Search the Planet

Custom Search

1.10.2010

झाडापखाला - कारण र रोकथामका उपायहरू

दिनमा अर्थात् चौबीस घण्टामा तीनचार पटक वा त्यसभन्दा बढी पटक पानीजस्तो पातलो दिसा लागेको अवस्था नै झाडापखाला हो । गर्मी तथा वर्षायाममा प्रायः देखिने यो समस्याले मुख्यतया बालबालिका तथा कमजोर स्वास्थ्य हुने बृद्धबृद्धालाई सताउँछ । धेरैपटक पानीजस्तो पातलो दिसा अर्थात् पखाला लाग्दा शरीरबाट पानीको मात्रा असन्तुलितमात्रामा शरीरबाट बाहिर जाँदा शरीरमा नून (सोडियम), पोटासियम र चिनी (ग्लुकोज) को कमी हुन गई निर्जलीकरण हुन जान्छ र यथोचित औषधोपचारको अभावमा जलवियोजन हुनजाँदा रोगीको मृत्यु हुनसक्छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वव्यापीरूपमा हुने कुल मृत्युको चार प्रतिशत झाडापखालाबाट हुन्छ । दीर्घ झाडापखालाले बालबालिकाहरूमा कुपोषण पनि हुने गर्छ । झाडापखालाले आक्रान्त पारिसकेपछि तत्काल उपचार नपाएमा यसबाट विरामीको मृत्युसमेत हुनसक्छ ।

कारण
यो रोगको प्रमुख कारण प्रदूषण र विषाक्तता हो । स्वच्छ खानेपानीको अभाव, फोहोरमैलाको विसर्जन जथाभावीरूपमा गर्दा, शौचालयको समुचित प्रबन्ध नहुँदा, भान्साघर तथा खाने ठाउँ खुला स्थानमा हुँदा विविध खालका कीटाणुको सङ्क्रमण हुन गई झाडापखालाको प्रकोप बढ्छ । सडेगलेका र बढी चिल्लोयुक्त खाद्यपदार्थ तथा बासी खानेकुरा प्रयोग गर्नु आदिबाटसमेत यो रोग सर्छ । शिशुहरूलाई आमाको दूधको सट्टामा प्रयोग गरिने दूध राख्ने बोटल, भाँडालाई सङ्क्रमित पानीले सफा गर्दा तथा प्याकेटको तयारी खाद्य पदार्थलाई आवश्यक तापक्रममा नराखी प्रयोग गर्दा पनि रोग सर्छ । रोगी व्यक्तिको दिसा र बान्तामा रहेका कीटाणु र परजीवीहरूबाट सङ्क्रमित दूषित पानी तथा खानेकुरा प्रयोग गर्दासमेत झाडापखालाले आक्रान्त पार्छ ।

लक्षण
झाडापखाला हुँदा दिनमा तीनचार पटक वा त्यसभन्दा बढी पटक पानीजस्तो पातलो दिसा लाग्छ । बालबालिका जसले आमाको दूधको सट्टा बोटलको दूध खाएका हुन्छन्, जन्मँदा कम तौलका हुन्छन्, छिट्टै अनाज खुवाइएको हुन्छ, कमजोर, कुपोषित, अमाशय तथा आन्द्रासम्बन्धी र अन्य रोगहरूबाट पीडित हुन्छन्, त्यस्ता केटाकेटीमा झाडापखालाको तुरुन्त उपचार सम्भव नभएमा बच्चाको मृत्यु पनि हुनसक्छ । यो रोगमा वाकवाकी लाग्ने र बान्ता हुन्छ । पेट गड्याङ्गुडुङ् गर्छ, दुख्छ तथा साह्रै गन्हाउने दिसा हुन्छ । हातखुट्टा गल्छ, मांसपेशी बाउँडिन्छ । बढीमात्रामा तिर्खा लाग्ने, रिङ्टा लाग्ने हुन्छ । विरामीको आँखा गाडिँदै कमजोरी महसूस हुन्छ । मुख, जिब्रो सुख्खा र फोहोर हुन्छ । पिसाब कम हुन्छ तथा जलवियोजन बढी भएमा पिसाब नहुने, रुँदा आँसु नआउने हुन्छ । बच्चाहरूको तालु धसिन्छ । शरीर चिसो हुन्छ, पेटको छाला तन्काएर छोड्दा मुजा परिराख्छ । नाडीको गति मन्द भई पत्ता लगाउन गाह्रो हुन्छ, रक्तचाप कम तर श्वासप्रश्वास तीब्र हुन्छ ।

घरेलु उपचार
आमाको दूध खाने बच्चा भए साविकभन्दा बढीपटक दूध खुवाउनुपर्छ । आमाको दूध अपुग भए गाईभैँसीको दूधमा आधा पानी मिसाई खुवाउनुपर्छ । प्रशस्तमात्रामा झोलिलो खानेकुराहरू जस्तै दालको झोल, मसला कम भएको तरकारी, गेडागुडीको झोल, केरा, माछामासु, फलफूलको रस, फिक्का चिया, भातको माड, पातलो लिटो खुवाउनुपर्छ । यी खानेकुराहरू पनि नभएमा सादा पानी प्रशस्त मात्रामा पिउनुपर्छ । शरीरमा झाडापखालाबाट खेर गएको लवण, पोषकतत्त्व र पानीको क्षतिपूर्ति गर्न पुनर्जलीय झोल बनाएर पनि खुवाउनुपर्छ ।

पुनर्जलीय झोल
शरीरबाट खेर गएको तरल पदार्थको तुलनामा विरामीलाई झोल खुवाउने प्रकृयालाई पुनर्जलीय उपचार भनिन्छ । यसले विरामीलाई मृत्यु हुनबाटसमेत जोगाउँछ । साबुनपानीले राम्रोसँग हात धोई जीवनजल तयार गर्नुपर्छ । पुनर्जलीय झोल जतिपटक पखाला लाग्छ, त्यति नै पटक खुवाउँदै जानुपर्छ । घरमा जीवनजल नभएमा दुई माना सफा उमालेको पानीमा दुई ठूलो चम्चा चिनी, मह वा ग्लुकोज चौथाइ चिया चम्चा नुन र सम्भव भए कागती, सुन्तलाको रस आधी कप राखी बनाउन सकिन्छ । यसरी झोलपदार्थ खाँदा सामान्यतया तीन-चार दिनमा झाडापखाला सुध्रिँदै जान्छ र विरामीलाई ठीक हुन्छ तर तीन दिनसम्म सुधारोन्मुख नभएमा, धेरै पातलो दिसा तारन्तार वान्ता गरेमा, ज्यादै तिर्खा लागेमा, राम्ररी खानपिउन नसकेमा, ज्वरो आएमा, दिसामा रगत देखिएमा, मुखबाट पुनर्जलीय उपचार गर्न नसकिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा वा स्वास्थ्यकर्मी वा चिकित्सककोमा लैजानुपर्छ । पेयपदार्थ खाँदा कतिपय रोगीलाई बान्ता हुने भएकोले निर्जलीकरणबाट छुटकारा पाउन ग्लुकोज-स्लाइन तत्काल दिनुपर्ने भएकाले रोगीलाई अस्पताल वा स्वास्थ्य केन्द्र लैजानुपर्छ ।

रोकथाम
बच्चा जन्मेदेखि पाँच महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्छ । त्यसपछि आमाको दूधको साथै थप पोषिलो र ताजा खानेकुराहरू दुई वर्षसम्म खुवाइरहनुपर्छ । बच्चालाई एक वर्षभित्रै सबै खोप दिनुपर्छ । फिल्टर गरेको वा उमालेको पिउने पानी प्रयोग गर्नुपर्छ । खाना खानु, खुवाउनु वा पकाउनु अगाडि, फोहोरमैला छोएपछि, दिसा धोएपछि साबुनपानी वा खरानी पानीले राम्ररी हात धुनुपर्छ । परिवारका सबै सदस्यले खुला ठाउँमा शौच नगरी चर्पीको प्रयोग गर्नुपर्छ ।

पानीको मुहान सफा राख्ने, मुहान वरपर दिसापिसाब र अन्य फोहोर नगर्ने, सडेगलेका बासी, झिँङ्गा भन्केको, काँचो, राम्ररी नपकाइएको तथा नपखालिएको खानेकुरा नखाने, चुरोट, जाँडरक्सी नखाने, सफा र ताजा खानेकुरामात्र खाने, विरामीको रेखदेख गर्नेले हात साबुनपानीले धुने, नङ सफा राख्ने, सबैले व्यक्तिगत सरसफाइमा ध्यान पुरयाउनेजस्ता सावधानी अपनाइएमा झाडापखालाबाट जोगिन सकिन्छ । खानपानमा ख्याल पुरयाए झाडापखाला, हैजाको सङ्क्रमणबाट जोगिन खासै गाह्रो हुँदैन । मात्र शुद्ध पानी खाने र घरबाहिरको खानेकुरा नखाने हो भने यो समस्या धेरै कम हुन्छ ।
Share/Bookmark

No comments:

Post a Comment

Wanna say-

Search This Blog