Search the Planet

Custom Search

9.18.2010

कुपोषणले मातृ तथा शिशु मृत्युदरमा पर्ने असरहरू

मातृ तथा शिशु मृत्युदर के हो ?
शिशु मृत्युदरले देशवासीको स्वास्थ्य अवस्थाको स्पष्ट झल्को दिन्छ।यस्तो मुलुकले गरीब, अविकसित मुलुकको प्रतिनिधित्व गर्छ।बढी शिशु मृत्युदर हुने देशमा नै बढी मातृमृत्यु हुने गरेको देखिएको छ।कुपोषण तथा स्वास्थ्य हेरचाहमा कम खर्च गर्ने देशमा यो समस्या बढी छ।शिशु मृत्युदरले कुनै निश्चित क्षेत्रमा प्रति एक हजार जीवित जन्ममा एक वर्षभित्रको उमेरसमूहका शिशुको मृत्यु उही वर्षमा भएको जनाउँछ।कुनै वर्षमा एक वर्षभन्दा मुनिका शिशुको मृत्युको सङ्ख्यालाई उक्त वर्षमा जीवित जन्म शिशुको सङ्ख्यालाई भाग गरी १००० ले गुणन गर्दा निस्कने परिणाम नै शिशु मृत्युदर हो।त्यसैगरी गर्भावस्थामा वा गर्भावस्थाको तुरुन्तैपछि आमाको मृत्यु अर्थात् मातृमृत्युदरले प्रतिवर्ष प्रतिहजारमा मृत्यु हुने आमाको संख्या बुझाउँछ।तसर्थ एक लाख जनसङ्ख्यामा मृत्युदर ३.५ ले उक्त जनसङ्ख्यामा प्रतिवर्ष ३५० जना अर्थात् ०.३५% को मृत्यु हुने सङ्ख्या बुझिन्छ।

तथ्याङ्कमा मातृ तथा शिशुमृत्युदरको अवस्था
मातृ मृत्युदरले देशको स्वास्थ्यसेवाको स्तर मापन गरेको हुन्छ।तथ्याङ्ककअनुसार प्रति लाख जीवित जन्ममा सबैभन्दा खराव अवस्था सिएरालिओनको छ।त्यहाँ मातृमृत्युदर २००० छ।त्यस्तै अफगानिस्तानमा यो दर १९०० छ।त्यहाँ हरेक सत्ताइस सेकेण्डमा एकजना महिला गर्भसँग सम्बन्धित कारणले मर्छन्।मातृमृत्युको आजन्म जोखिम (Lifetime risk of maternal death) ले गर्भवती र जोखिमको संख्या देखाउँछ।अफ्रिकामा १६ गर्भमध्ये एक जोखिममा पर्छ भने विकसित देशमा २८०० गर्भमा एकमात्र जोखिमअन्तर्गत पर्छ।अविकसित देशमा आमा, शिशुको स्वास्थ्य समस्या यस्तो गम्भीर देखिन्छ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार अविकसित मुलुकमा प्रजनन् क्षमताका (१९-४९ वर्ष) महिलाहरूको मृत्युको एक मुख्य कारण गर्भधारणबाट उत्पन्न हुने जटिलता नै हो।

स्वास्थ्य सुविधामा पहुँच, परिवार नियोजन सेवा तथा आकस्मिक प्रसूती तथा सुत्केरीलगत्तैको स्याहारको गुणस्तरमा सुधारसँगै रक्तसञ्चारको सुविधा, अनिच्छित गर्भधारणमा कमी आएकाले मातृ मृत्युदरमा कमी देखिएको छ।विविधखाले खोपको विकासले बालबालिकालाई विभिन्न रोगहरूबाट उन्मुक्ति दिएको छ।त्यस्तै परिवार नियोजनका अस्थायी, स्थायी विधिहरूका कारण अनिच्छित गर्भ रोकेको छ।नेपालमा मातृमृत्युदर प्रति लाखमा २८१ छ भने अन्तरिम योजनाको लक्ष्य २५० मा झार्ने थियो।त्यसैगरी नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३४ छ, शिशु मृत्युदर ४८ छ भने बाल मृत्युदर (पाँच वर्षमुनिका) ६१ रहेको छ।यी दरहरू निरन्तर घटिरहेका छन्।

मृत्युदर किन बढ्दोछ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार मातृमृत्युको मुख्य कारणहरू यस्ता छन्-अत्यधिक रक्तश्राव (२५%), सङ्क्रमणका कारण १३%, असुरक्षित गर्भपतनका कारण १३%, Eclampsia (१२%), असफल प्रसव (Obstructed Labour) ८%, अन्य प्रत्यक्ष कारणले ८% र अप्रत्यक्ष कारणले २०%।अप्रत्यक्ष कारणहरूमा मलेरिया, रक्तअल्पता, एच्. आइ. भी. एड्स र मुटुसम्बन्धी (Cardiovascular) रोगहरू तथा समस्यामूलक (complicate) गर्भधारण पर्छन्।९०% भन्दा बढी मातृमृत्यु त अविकसित देशमा हुन्छ।अविकसित देशहरूमा मातृमृत्युको साझा कारण obstetrical hemorrhage हो र योपछिको अर्को कारण deep vein thrombosis हो।

एक अनुमानअनुसार ८० प्रतिशत प्रसूतिसेवा दिन प्रति एकहजार जनसंख्याका लागि २.४ चिकित्सक, नर्स र मातृशिशु कार्यकर्ताको आवश्यकता रहेकोमा दक्षिणपूर्वी एसियामा प्रतिएकहजार जनसंख्याका लागि २.१ स्वास्थ्यकर्मी परिचालित छन्।अर्कोतिर लाखौँ धनराशि खर्चेर तयार स्वास्थ्यकर्मी विदेशिनु, सुविधाकेन्द्रित हुनुले समस्या बढाएको छ।विश्व स्वास्थ्य सङ्गठनको एक तथ्याङ्कअनुसार नेपालमा प्रतिदसहजार जनसंख्याका लागि १५ स्वास्थ्यकर्मी कार्यरत छन्।तिनीहरू पनि दक्ष नहुँदा कार्यालय सहयोगी (पियन) ले एक्सरे, रगत जाँच्ने गरेको सुनिएकै कुरा हो।

ग्रामीण समाजमा अद्यापि सानो उमेरमै विहे गरिदिने र बच्चा जन्माउने प्रवृत्तिका कारण पनि मातृ तथा शिशु मृत्युदर बढ्दो छ।विश्वमै बालविवाह गर्ने प्रमुख देशमध्येमा नेपाल पर्छ।तसर्थ बालविवाह र प्रजनन् स्वास्थ्यका कारण मातृमृत्युदर यहाँ बढी छ।केटाको तुलनामा केटीले तुलनात्मकरूपमा घरायसी काम बढी गर्नुपर्ने, तिनको छिटो विवाह गरिदिने संस्कार र त्यसकारण तिनीहरूमा देखिने विभिन्न समस्याका प्रभावस्वरूप पढाइप्रति नै अरुचि उत्पन्न भएकाले पनि बालबालिका निरक्षर भइरहन्छन्।बाल-विवाहको फलस्वरूप केटीहरू सानैमा आमा बन्छन्।तिनले आफ्नो लोभलाग्दो महत्त्वपूर्ण समयको रूपमा रहेको बाल्यकाल अनाहकमा गुमाउँछन्।बालविवाहपछि स्वास्थ्य र शिक्षाको अधिकारसमेत गुमी विभेद र घरेलु हिंसाको सिकार हुन पुग्छन्।आफ्नो खुट्टामा उभिन नसक्ने, मानसिकरूपमा विवाहका लागि तयार नहुँदा मानसिक यातना बढी हुने, घरायसी खर्च बढ्ने, सानै उमेरमा बच्चा जन्मिने, बच्चा र आमाको मृत्युसमेत हुनसक्ने जस्ता विभिन्न समस्या भोग्नुपर्ने हुन्छ।बालविवाहपछि तिनले श्रीमानका घरमा स्वच्छ र पर्याप्त खाना र हेरचाह पाउँदैनन्।यही कारण बालविवाह गर्नेहरू विभिन्न शारीरिक तथा मानसिक रोगको शिकार भएका पाइन्छन्।उता सानैमा सुत्केरी भएमा बच्चा जन्माउन गाह्रो हुने, घरपरिवारबाट सहयोगी व्यवहार नहुने, नयाँ जन्मेको बच्चा बारम्वार बिरामीका साथै सुस्त मनस्थितिको हुनसक्ने, आमालाई कामको बोझ हुने, यौनाङ्गमा हानि हुनसक्ने र परिवार चलाउन गाह्रो हुन्छ।प्रायः अभिभावकले परम्परागत सोचका कारण विहेअघि नानीहरूसँग एकवचन पनि सोध्दैनन्।केटा र केटी पनि विहेअघि भेट्दैनन्।यसरी बिना कुनै योजना विहे भएपछि परिवार नियोजनका बारेमा सोच्ने समय नै पनि पाइँदैन।योजनाबिना शिशुको आगमनले शिशुको स्याहारसुसारमा समस्या देखिन्छ।

देशमा गरीवीका कारण आमाहरू घरभित्रका काममा हिँड्नु त पर्छ नै साथै मेलापात, खेतीपातीमा संलग्न हुनुपर्दा समयमा खान नपाउने, शिशुले खान नपाउने हुँदा तिनको शारीरिक बृद्धिमासमेत अवरोध पर्छ।गर्भवती भएपछि नै भारी बोक्नेजस्ता गह्रौँ काम त्याग्नुपर्छ तर गरिबीले थिल्थिलो भएका हामी अन्य सामान्य अवस्थामाझैँ गर्भवतीलाई काममा लगाइरहन्छौँ।यसले महिला तथा गर्भस्थ शिशु दुबैको स्वास्थ्य जोखिममा पार्छ।

गर्भवती आमाले सदाझैँ नखाई दुईजनाको लागि खानुपर्छ।आमाले पौष्टिकतत्त्व खान नपाए आमाको स्वास्थ्य गडबड हुनुका साथै छोराछोरी पनि कम तौलका (जन्मँदा दुई किलो पाँचसय ग्रामभन्दा कम तौलको) जन्मन्छन् किनभने बच्चाको बृद्धि र विकास गर्भदेखि नै हुन्छ।शिशुको एक पाउण्ड तौल कम हुनु भनेको आमाको मृत्युमा दोब्बर बृद्धिको जोखिम बढ्नु हो।त्यसैगरी बढी तौलको बच्चा जन्मनु भनेको आमाको स्वास्थ्यमा जोखिम कम हुनु हो।कम तौलको शिशुमा रोगहरूविरुद्धको लड्ने क्षमता कम हुनेहुँदा विभिन्न सङ्क्रामक रोगको सिकार चाँडै हुन पुग्छ।कम तौलको शिशु जन्मने एक प्रमुख कारण गर्भिणीले पौष्टिक खाना खान नपाउनु हो।झाडापखाला, पोषणको कमी, सरुवा रोग, गर्भकालको विभिन्न विकृतिका कारण बालबालिकाको मृत्यु बढ्छ।त्यसैगरी रक्तअल्पता, प्रसव समस्या, असुरक्षित गर्भपतन र पोषणको कमीले मातृमृत्यु बढेको छ।गर्भवती भएपछि पनि परिवारका अन्य सदस्यलाई गर्भका बारेमा जानकारी नहुँदा महिलाले घरको जेजस्तो पनि काम गरिरहन्छन्, तिनलाई आवश्यक सल्लाहसुझाव पनि कसैले दिँदैन।कतिपय घरमा त बुहारीलाई घरायसी कामका लागिमात्र ल्याइएजस्तो पनि देखिन्छ।गर्भावस्थामा काम गर्नु जोखिमपूर्ण हुन्छ।गर्भिणीले काम गराइ बिस्तारै कम गर्नुपर्छ।सात महिनाको गर्भिणीले त दैनिक गरिआएका सामान्य काम पनि क्रमशः घटाउनुपर्छ।

जोखिम किन बढेको होला ?
प्रसूती तथा सुत्केरी अवस्थामा गर्भवतीले पौष्टिक पदार्थ खान नपाउँदा पनि शिशु तथा मातृमृत्युको मात्रा बढ्दो छ।मातृ तथा शिशु मृत्युदर बढ्ने अर्को कारण स्वास्थ्य सेवाको पहुँच नपुग्नु पनि हो।ग्रामीणक्षेत्र तथा अविकसित मुलुकमा यस्तो समस्या छ।टाढाटाढा जानआउन गाह्रो हुँदा तिनीहरू स्वास्थ्य संस्थासम्म जाँदैनन्, जान खोज्दैनन् वा भनौँ जाने मौका कमैमात्र पाउँछन्।यो काममा खर्च पनि हुने तथा टाढा हुँदा साथीको रूपमा अरूलाई पनि सँगै लैजानुपर्ने हुँदा घरको काम लथालिङ्ग हुने तथा घरको आम्दानी पनि घट्नसक्ने हुनाले कतै जानुपर्दा घरपरिवार चलाउनै धौधौ हुने अवस्थामा कोही पनि स्वास्थ्यचौकी जान खोज्दैनन्।गर्भवतीको नियमित स्वास्थ्य परीक्षण गराउनुपर्नेमा सबैजसो स्थानमा स्वास्थ्य सेवासुविधा नहुने तथा भएको ठाउँमा पनि विभिन्न व्यावहारिक कठिनाइका कारण महिलाहरू स्वास्थ्यकर्मीसम्म पुग्नै सक्दिनन्।कतिपयलाई त गर्भिणी भएपछि स्वास्थ्य संस्था जानुपर्ने ज्ञानै छैन।केही यस्ता कारण पनि कारण पनि छन्-

 कुपोषण
 स्वास्थ्य समस्याका बारेमा सजग नहुनु, स्वास्थ्य शिक्षा तथा सुविधाका बारेमा अनभिज्ञ
 सानै उमेरमा विहेका कारण छिट्टै सन्तान जन्मँदाको समस्या
 मातृ तथा शिशु मृत्युका बारेमा जनचेतना नजगाइएको अवस्था
 अशिक्षाका कारण अन्धविश्वासी हुनु, अस्पताल नजानु आदि

रक्तअल्पताबाट गर्भिणी स्त्री तथा ससाना बालबालिका पीडित देखिएका छन्।हामीले खाने खानामा फलामको मात्रामा कमी हुँदा, विविध कारणले शरीरले फलाम तत्त्वको उपभोग नगर्दा, परजीवी जस्तै जुका आदिले रगत खाइदिँदा, रक्तश्राव हुँदा रक्तअल्पता हुन्छ।आमामा फलामको कमी भए आमाका साथै बच्चा पनि पीडित हुन्छ।दूध खुवाउने आमा छिटो थाक्ने, अल्छी हुने भएमा रक्तअल्पता भएको हुनसक्ने भएकाले रगत बढाउने खानेकुरा जस्तै आइरनचक्की, मासु, कलेजो, साग, फलफूलको मात्रामा बृद्धि गरिनुपर्छ।प्रोटिनयुक्त खानेकुरा पनि यतिखेर आवश्यक पर्छ।

गर्भवती किन पोषणसम्बन्धी समस्यामा पर्छन् ?
 कम उमेरमै तथा धेरै पटक गर्भवती हुनु
 धूमपान, मद्यपान, लागूपदार्थको प्रयोग
 अशिक्षा, आर्थिक अवस्था आदिका कारण पोषण ज्ञान नहुँदा अनावश्यक व्रत बस्नु, कम खाने, बढी खाने वा सन्तुलित भोजनको नियम पालन नगर्नु ।

मातृ तथा शिशु मृत्युदर कम गर्न के गर्नुपर्ला?
स्वास्थ्य कार्यकर्ताले गर्भवतीबाट धूमपान, मद्यपान, लागूपदार्थको प्रयोगलगायत कुपोषण, तनाव, गर्भावस्थामा अपर्याप्त रेखदेख, गर्भवतीमा दीर्घरोगहरू हुँदाका बेफाइदाका बारेमा गर्भवती तथा तिनका परिवारलाई जानकारी गराउनुपर्छ।धूमपान, मद्यपान नगर्ने महिलाको स्वास्थ्य सवल हुन्छ, साथै शिशुको स्वास्थ्यमा पनि अनुकूल प्रभाव पर्छ।आमा स्वस्थ भएमात्र शिशु पनि स्वस्थ जन्मने हुन्छ।गर्भवती, सुत्केरी तथा शिशुलाई दूध खुवाउने आमाको विशेष हेरचाह आवश्यक हुन्छ।समुदायले आमा र बच्चालाई जोगाउन गर्भवतीलाई पहिलो तीन महिनामा गरिने प्रिनाटल केयर (Prenatal Care) का लागि जुनसुकै बखत तयार रहनुपर्छ।जोखिमयुक्त लक्षणहरूका बारेमा सदैव सतर्क भएर गर्भवतीलगायत घरका सबै चनाखो हुनैपर्छ।

कुन पोषकतत्त्वको कमीले मातृ तथा शिशु मृत्युदर बढाउँछ?
निम्नवमोजिमका पौष्टिकतत्त्वको सन्तुलित उपभोगले मातृ स्वास्थ्यको रक्षामा उल्लेखनीय योगदान गर्छ।यी खाद्यपदार्थको अभावमा वा यिनको समुचित सन्तुलन हुन नसक्दा गर्भिणीको स्वास्थ्यमा समस्या देखिन्छ र सँगै गर्भस्थ शिशुले पनि पौष्टिक तत्त्व नपाउने हुँदा शिशु पनि स्वस्थ जन्मँदैन।

 क्यालोरीयुक्त- भात, रोटी, घ्यू, तेल, चिनी, सख्खर आदि
 प्रोटिन- दाल, गेडागुडी, माछामासु, फुल
 फोलेट- दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुङ्गो र अन्य हरिया सागपातबाटमात्र फोलेटको मात्रा नपुग्ने हुनाले फोलेट चक्की पनि खानुपर्छ ।
 फलाम- रातोमासु, गाढा हरिया सागपात, दाल, गेडागुडी (खानेकुराबाटमात्र फलामको पूर्ति नहुने भएकोले फलामचक्की खानुपर्छ)।
 अन्य- रेसादार खाना खाने, प्रशस्त तरल पदार्थ पिउने (दालको झोल, सफा पानी आदि)

सुत्केरी अवस्थामा गर्भवतीले आफ्नो र बच्चा दुवैका लागि खानुपर्छ तथा यतिखेर यथोचित् आराम पनि गर्नुपर्छ।आमाको कुपोषणले आमाको दूधमा भरपर्ने शिशु आवश्यक पौष्टिकतत्त्व प्राप्त गर्न नसकी कुपोषित भई विभिन्न रोगहरू लागी बाल्यावस्थामै पिलन्धरे, ख्याउटे भई रोगहरूविरुद्ध लड्न सक्दैनन् साथै शारीरिक, मानसिक विकासमा बाधा पुग्छ।सुत्केरी अवस्थामै आमाको मृत्यु पनि हुन सक्छ।

शिशुको खाना
स्तनपान भनेको अमृतपान बराबर हो।आमाको दूधमा शिशुका लागि मानसिक, शारीरिक विकासका लागि आवश्यक पौष्टिकतत्त्व हुनुका साथै शिशुलाई लाग्नसक्ने नानाथरी रोगहरूविरुद्ध लड्ने क्षमता पनि हुन्छ।तसर्थ स्तनपान गराउने आमालाई सामान्य अवस्थामा भन्दा बढी झोलपदार्थ, थप तागतिला खानेकुरालगायत अन्य पौष्टिक खाना खुवाउनुपर्छ।आमाहरूमा कुपोषणको कारणले पनि दूध उत्पादनमा कमी आउने हुँदा शक्ति, क्यालोरी, भिटामिन ए, भिटामिन सी तथा जिङ्क खनिजतत्त्वको आवश्यकता बढीमात्रामा पर्छ।तसर्थ आमाहरूले दूधदही, चिज, ठीक्कमात्रामा घ्युतेल, फलफूल, माछामासु, फुल, तरकारी भात, रोटीयुक्त सन्तुलित भोजन यथेष्टमात्रामा केही समयको अन्तरालमा खाइरहनुपर्छ।बच्चा जन्मेको केही समयपछि नै आमाले बिगौती दूध बच्चालाई खुवाउनुपर्छ।यस्तो दूधमा विभिन्न रोगहरूविरुद्ध लड्नसक्ने क्षमता रहेको हुन्छ।बच्चा जन्मेपछिको पछिल्लो छ महिनासम्म आमाकै दूध खुवाउनुपर्छ।यो जत्तिको पौष्टिक खाना शिशुका लागि अरू हुनै सक्दैन।त्यसपछि नरम दाल, भात, तरकारी खुवाउन सकिन्छ तर आमाको दूध छुटाउनुहुन्न।

गर्भवतीको खाना
गर्भवती अवस्थामा एक किलो शारीरिक तौलबराबर डेढ ग्राम प्रोटिन खानुपर्छ।यतिखेर हुनसक्ने रक्तअल्पता हुन नदिन रगत बढाउने पौष्टिक तत्त्वहरू जस्तै फलाम, भिटामिन सी, भिटामिन बी६, भिटामिन बी१२ को उपभोग बढाउनुपर्छ।यतिखेर फलामको आवश्यकता झण्डै दैनिक तीस ग्रामसम्म हुन्छ।गर्भवती भएको तीन महिनापछि यसको मात्रा बढाउँदा फाइदै हुन्छ।साधारणतया गर्भवतीले दैनिक १.२ मिलिग्राम क्याल्सियम खानुपर्छ।धूमपान गर्दा सालबाट कम रगत जान्छ र बच्चो कमजोर तथा कम तौलको हुनसक्छ।मद्यपानले गर्दा पनि बच्चा कम तौलको जन्मने हुन्छ।बढी फाइबरयुक्त भोजन गर्दा पनि शरीरमा खनिजतत्त्वको कम शोषण हुँदा कुपोषण हुन्छ तर यो ठीक्क खाए फाइदा गर्छ।धेरै व्रत गर्दा पौष्टिक खानाको अभावमा आमाबच्चा दुवैलाई समस्या पर्नसक्छ।

गर्भावस्थाभन्दा सुत्केरीअवस्थामा थप ५५० क्यालोरीको आवश्यकता पर्ने हुनाले क्यालोरीका लागि भातरोटी, घ्यूतेल, सख्खर, चिनी आदि खानुपर्छ।साथै सुत्केरी अवस्थामा रगतको कमी हुँदा फलामचक्की पनि खानुपर्ने हुन्छ।सुत्केरीले स्तनपान गराउनुपर्ने हुनाले क्याल्सियम खनिजतत्त्वको कमी हुन गई हाड दुख्ने, हाड बाङ्गिने समस्या आइपर्न सक्छ।यसका लागि क्याल्सियमयुक्त खानाहरू दूध तथा दुग्धजन्य पदार्थ, ज्वानोको झोल, सिस्नु, भुरामाछा, बदाम, काजु आदि खानुका साथै क्याल्सियम चक्की पनि खानुपर्छ।यसका साथै दूधका रूपमा शरीरबाट पानी निष्कासन हुने भएकोले तरल पदार्थ पनि प्रशस्त पिउनुपर्छ।शिशुलाई स्तनपान गराउनेलाई दूध खुवाएर बाहिर निस्केको पानी पूर्ति गर्न र बच्चाको आवश्यकतानुसार दूध बनाउन प्रशस्तमात्रामा झोलपदार्थ खुवाउनुपर्छ।परम्परागत चलनअनुसार सुत्केरी र त्यसपछि नानीलाई दूध खुवाउने आमालाई ज्वानोको झोल खुवाउने चलन रहेको छ।ज्वानोको झोलमा प्रशस्त मात्रामा क्याल्सियम, केही मात्रामा शक्ति (घ्यूतेलबाट आउने) र पानीको आपूर्ति हुनेहुँदा दूध ख्वाउने आमाको लागि यो पौष्टिक खाना मानिन्छ।ज्वानोको झोलका साथै दाल तथा गेडागुडीको झोल, माछामासुको रसजस्ता झोलिला खाना ख्वाउनाले दूध प्रशस्त बन्ने हुन्छ।त्यसैगरी प्रोटिनका लागि माछामासु, फुल, दूध, दाल तथा गेडागुडी पर्छन्।दूध खुवाउने आमालाई गाउँघरमा घ्यू, माछामासु, गुलियो मिठाइ आदि खुवाउने चलन छ।यसले गर्दा प्रशस्त दूध आउँछ।नेवार समुदायमा ताजा तथा नरम भातसँग घ्यूचाकु खुवाउने चलन रहेको छ।गरिष्ठ भोजन तथा गह्रौँ खाद्यपदार्थहरू भने यतिखेर नखाएकै बेस हुन्छ अर्थात् त्यस्ता खानेकुरा खुवाउनुहुन्न।गाउँघरमा अझ पनि सुत्केरी औषधिको रूपमा पौष्टिक खाद्यवस्तु खाने चलन छँदैछ।यो औषधि खाँदा सुत्केरी हुँदाको घाउ चाँडै निको हुने र दूध पनि भनेजति आउने हुन्छ।आमाको खानपानमा ध्यान दिएमा आमाको दूधको मात्रा बढाउन सकिन्छ।यस्तो खानाले आमाको स्वास्थ्य तथा पोषणस्थिति पनि सवल हुने अनि शिशुलाई पनि प्रशस्त दूधको श्रोत प्राप्त हुन्छ।ल्याक्टोजीनजस्ता महङ्गा खाना तथा यिनबाट हुनसक्ने खतरनाक सङ्क्रमण अनि असमयमै बच्चालाई ठोस आहार, गाईभैँसीको दूध खुवाउनुपर्ने बाध्यताका कारण शिशुको पाचनप्रणालीलाई असर नगर्नेगरी आमाको दूधमार्फत शिशुलाई जोगाउन सकिन्छ।

गर्भावस्थामा नियमितरूपमा स्वास्थ्य संस्थामा जाने बानी गर्नुपर्छ।बरोबर शरीरको तौल लिने गर्नाले आफ्नो र गर्भको प्रगतिको बारेमा जानकारी रहन्छ।साधारणतया महिनामा डेढ किलोको दरले तौल बढ्नुपर्छ र पछिल्लो दुई तीन महिनामा केही अझ बढी तौल बढ्नुपर्छ।अचानक तौल बढ्नु र घट्नु दुर्घटनाको सङ्केत हुनसक्छ।अन्य अवस्थामा भन्दा यतिखेर बढी आराम गर्ने, सुत्ने गर्नुपर्छ।

केही प्रयास
गर्भवती महिलाको ज्यान खतरामा पर्ने, विकलाङ्ग बच्चा जन्मने वा गर्भवती महिलाको गर्भकै कारणले शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर, प्रतिकूल असर पर्ने कुरा स्वीकृत चिकित्सकले राय दिए सम्बन्धित महिलाको मञ्जुरीमा गर्भपतन गर्ने कानूनी व्यवस्था २०६१ चैत ५ बाट भएको छ।उक्त कानूनी प्रावधानअनुसार महिलाको स्वीकृतिमा १२ हप्ताभित्रको जुनसुकै गर्भ र बलात्कार र हाडनाता करणीमा १८ हप्तासम्मको गर्भपतन गराउन कुनै रोक छैन।लिङ्ग पहिचान गरी गर्भपतन गराउन कानूनी दृष्टिले दण्डनीय मानिने व्यवस्था गरिएको छ।पाँचवर्षमुनिका बालबालिकालाई वर्षको दुईपटक भिटामिन ए खुवाइँदैछ।त्यसैगरी पोलियो, दादुरा आदिका खोप राज्यले निःशुल्क उपलब्ध गराएको छ।यस्ता खोपहरूले पनि मातृ तथा शिशु मृत्युदरमा कमी ल्याइरहेकै छ।

वास्तवमै स्वस्थ आमाले मात्र बच्चा हुर्काउन सक्छिन्।आफै आफ्नो जीवनको लागि विविधखाले संघर्ष गर्नुपर्ने महिलालाई आफ्नो र शिशुको स्वास्थ्य रक्षा गर्न कठिन अवश्यै हुन्छ।पितृप्रधान समाजका कारण शिशुको नजिकैको घनिष्ठ साथी आमा नै हुन्छन्।

तीन वर्षीय अन्तरीम योजनाका केही कार्यक्रमहरू
 गरिवी निवारण कार्यक्रम लागू भएका २५ जिल्लामा मातृत्व तथा नवजात शिशु स्याहार कोषको स्थापना गरी कार्यान्वयनको लागि निर्देशिका तयार गरी लागू गरिने
 आधारभूत प्रसूती सेवा जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रसम्म र प्रसूती सेवा स्वास्थ्य चौकी तथा पूर्वाधार र जनशक्ति पुगेका उपस्वास्थ्य चौकीस्तरसम्म प्रसूती केन्द्र स्थापना गरिने
 विद्यालय खोप कार्यक्रम २४ जिल्लाबाट विस्तार गरी ४४ जिल्लामा सञ्चालन गरिने
 सबै जिल्लाका विद्यालयमा मुख, दाँत, आँखा, कुपोषण र कानको परीक्षणको व्यवस्था मिलाइने
 राष्ट्रिय पोषण केन्द्रको स्थापना गरिने र राष्ट्रिय पोषण नीति कार्यान्वयन गरिने
 पोषण शिक्षामा जोड दिँदै स्तनपानको महत्त्वबोध गराइने ।

गर्न बाँकी काम
सानै उमेरमा विहे गर्ने प्रवृत्ति रोक्नैपर्छ।चाँडो विहे गर्नेको तुलनामा ढिलो विहे गर्दा आमा तथा बच्चा दुवैले स्वास्थ्य समस्या कम झेल्नुपर्ने हुन्छ।यसले गर्दा श्रीमान्, श्रीमतीले सानो परिवारको महत्त्व बुझ्न सक्छन् साथै परिवार नियोजनका बारेमा आफै पनि निर्णय गर्न सक्छन्।मातृ तथा शिशु मृत्युदरको बढ्दो मात्रा र आर्थिक क्षमताबीच नजिकैको सम्बन्ध रहने देखिएको छ।आर्थिक क्षमताको कमीका कारण स्वास्थ्य सेवासुविधासम्म पहुँच नपुग्दा पनि मातृ तथा शिशु मृत्यु बढेकै देखिएको छ।निम्न काम गर्नैपर्ने देखिएको छ-

 प्राथमिक स्वास्थ्य सेवा सुविधासम्म सबैको अनिवार्य पहुँच
 सन्तुलित पौष्टिक आहारको प्रत्याभूति
 शिक्षा, स्वास्थ्यलगायतका कल्याणकारी क्षेत्रमा छोराछोरीबीचको विभेदको अन्त
 गर्भावस्थामा आमा र गर्भस्थ शिशुको हेरचाह
 परम्परागत प्रसूती व्यवस्थामा परिवर्तन गरी दक्ष स्वास्थ्यकर्मीको रोहवरमा सुत्केरी गराउनुपर्ने
 शिशुको हेरचाह आमाकोमात्रै कर्तव्य नभई परिवारकै दायित्बोध गराउनुपर्ने
 बालविवाहमा रोक
 सुरक्षित मातृत्त्वसम्बन्धी शिक्षा (परिवार नियोजन, विहे गर्ने उमेर आदिसम्बन्धी)
 गर्भवतीको नियमित अनिवार्य स्वास्थ्यजाँच आदि

Share/Bookmark

No comments:

Post a Comment

Wanna say-

Search This Blog