Search the Planet

Custom Search

9.18.2010

घरेलु खाजाः स्वस्थ, पोषिलो र ताजा

सामान्यतया खाजा भनेको खानाको परिपूरक खाद्यपदार्थ हो।एक मान्यताकाअनुसार खाजा भनेको दिनभरिको खानाको लगभग एक चौथाइ भाग हुनुपर्छ।खाना खानु केही समयअघि तथा खाना खाएको केही घण्टापश्चात् खाजा खाने चलन पुरानै हो।सहरमा एकाविहानै बिस्कुट,चियाले खाजाको काम गर्छ।गाउँमा मकै, भटमास आदि खाने चलन पनि कायमै छ।त्यस्तै दिउँसो च्युरा, रोटी तरकारी आदि पनि खाजाको रूपमा खाइन्छ।नेपालको सन्दर्भमा कार्यालय जानेहरू बिहान खाजाको सट्टा चाँडै खाना खाएर निस्कन्छन्।गाउँघरमा अहिले पनि विहान खेतबारीमा निस्कनेहरू भने विहानै खाजा खाएर जाने र ढीलै खाना खाने अभ्यास छ।कार्यालय जानेहरू दिउँसो खाजा खान्छन्।त्यसैगरी विद्यालय जाने केटाकेटी पनि दिउँसो विद्यालयमै खाजा खान्छन्।विहानै खाना खानेहरू दिउँसो खाजा खान्छन् र विहान खाजा खानेहरू सामान्यतया मध्यान्हअघि खाना खान्छन्।यसरी खाजाले खानाको परिपूरकको रूपमा काम गरिरहेको हुन्छ।खानाको तुलनामा खाजाको मात्रा सामान्यतया कमै हुन्छ।कसैले पनि खानाजत्तिकै खाजा खाँदैनन्।यसरी खाजाले खानासँग फरकपन कायम गरेको हुन्छ।कसैले धेरै खाजा खान खोजेमा कत्ति खानाजत्तिकै खाजा खाएको भनेको सुनिएकै कुरा हो।यसरी खाजाले खानाको परिपूरकको रूपमा काम गरेको हुन्छ।

हाम्रो सनातन धर्मसंस्कृतिले भोजनलाई तीन किसिममा विभाजन गरेको देखिन्छ-सात्त्विक, राजसी र तामसी।सात्त्विक भोजनलाई दीर्घकालीन स्मृति अर्थात् स्मरणशक्तिका लागि उपयोगी मानिन्छ।बौद्धिकवर्गले सात्त्विक भोजन गर्ने कुरा प्राचीनकालमा प्रचलित थियो।यस्ता खानामा हरिया सागपात, फलफूल, कन्दमूल, दूध तथा दुग्धजन्य पदार्थसगायत अन्य प्राकृतिक भोजन पर्छन्।विहानको खाजाजति बढी पचाउन गाह्रो हुन्छ, त्यति नै हानिकारक पनि हुन्छ।

खाजामा के खाइन्छ ?
सामान्यतया खानाको रूपमा नखाइने खाद्यपदार्थ खाजामा खानुपर्छ।यसो गर्दामात्र खाने मान्छेलाई खानेकुरा नदोहोरिने हुनाले झिँझो (Irritation) नलाग्ने हुन्छ।एउटै खानेकुरा बारम्बार खाए खानपिनमा अरुचि भई खाद्यपदार्थप्रति नै वितृष्णा उत्पन्न हुन सक्छ।तसर्थ खाद्यपदार्थमा विविधता हुनुपर्छ।सन्तुलित भोजनको लागि पनि खाना, खाजामा विविधता आवश्यक हुन्छ।समयसँगै खाजा खाने प्रचलनमा पनि परिवर्तन देखिन थालिसकेको छ।फुर्सद कम हुन थालेपछि मान्छेहरू यान्त्रिक हुन थालेका छन् र स्वस्थ, स्वच्छ, ताजा, घरेलु खाजाको सट्टामा तयारी, अर्धतयारी खाजातर्फ आकर्षित हुन थालेका छन्।मान्छेहरू चाउचाउ, बिस्किट, दालमोठ, भुजिया, भुजा आदि खान थालेका छन्।मकै, भटमास, च्युरा, रोटी तरकारी आदि तयार गर्न तथा खान फुर्सद कम हुन थालेको छ।मकै उसिन्न, भटमास साँधेर खाने चलन हराउँदैछ।तिनमा धैर्य पनि कम छ।अचेलका केटाकेटीलाई रोटीसँग गुन्द्रुकको अचार खाने चलनको बारेमा थाहै हुन छोडेको छ।महीसँग भटमास खाँदाको स्वाद कठै तिनले कहिल्यै नपाउने अवस्था आउन थालिसकेको छ।बाबाआमा दुबै जागिरे हुनेहरूको घरमा त अझ कहालिलाग्दो अवस्था देखिन्छ।त्यसैगरी घरमा हजुरबा,हजुरआमा नहुने बालबालिकाको त झनै विजोग छ।अचेल केटाकेटीलाई पैसा दिँदै खाजा किन्न लगाइन्छ।तिनले के खान्छन्,अभिभावकलाई थाहै हुन्न।सबैले सफा, ताजा, स्वच्छ खानेकुरा खान पाउँछन् भन्ने छैन।सहजै प्राप्त हुने भएकाले तयारी खाजा तिनको रोजाइमा पर्ने हुँदा आवश्यक पौष्टिक तत्त्व तिनले प्राप्त गर्ने अवस्था रहन्न।साथै धुलोमैलोयुक्त खानेकुरा खाँदा अलर्जी,रुघाखोकी आदि लगायतका रोगले आक्रमण गर्नसक्ने अवस्था पनि रहन्छ।
रोटी, पुरी, च्युरा तरकारी, मकै, भटमास, आदि परम्परागतरूपमा खाइँदै आएको खाजाको ठाउँ हाल चाउचाउ, बिस्किट, पाउरोटी, चटपटे, पानीपुरी आदिले लिन थालेका छन्।घरमा बन्ने खाजाको तुलनामा बजारमा पाइने यी खाद्यान्नले समयको बचत गरे पनि स्वास्थ्य भने पक्कै बिगार्छ।

घरेलु खाजा तथा तयारी खाजाको तुलनात्मक अध्ययन
घरपरिवारका सदस्यहरू आफैले मिलेर तयार गर्ने खाद्यपदार्थ नै घरेलु खाजा हुन् भने सामान्यतया बजारमा सहजै किन्न पाइने खाद्यपदार्थलाई तयारी खाजाको रूपमा लिन सकिन्छ।घरमा मकै उसिनेर जति पौष्टिकतत्त्व पाइन्छ, त्यति बजारमा पाइने उही मकैको उत्पादन पपकर्नमा पक्कै पाइन्न तापनि हामी पपकर्न खानमा रमाउँछौँ।पपकर्नको प्याकेजिङका लागि सित्तैमा पैसा खर्च गरिन्छ।घरेलु खाजामा मकै, भटमास, रोटी, च्युरा, तरकारी, भुटेको भात, हलुवा, ताजा फलफूल आदि पर्छन् भने चाउचाउ, बिस्किट, पाउरोटी, पिज्जा, बर्गर, आलुचिप्स आदिले तयारी खाजाको प्रतिनिधित्व गर्छन्।

तयारी खाजाले आक्रामकरूपमा बजार ओगट्नुको मुख्य कारण तिनको बजार प्रबर्द्धनको नाममा लाखौँ खर्च गरिनु तथा समयाभावको नाममा मान्छेहरू अल्छी गरेर पन्छने प्रवृत्ति हो।चाउचाउको बजार प्रबर्द्धनमा लाखौँ रुपियाँ खर्च गरिन्छ।समयको बचत, उपहार आदिको प्रलोभनमा परेर हामीले तयारी खाद्यपदार्थको रूपमा खासै फाइदा नगर्ने जङ्क फुड खाइरहेका छौँ।सहरियाहरूको घरमा एकदिन फुर्सद हुँदा पनि सबैजना रेष्टुरेण्ट गएर खाने चलन बढ्दो छ।रेष्टुरेण्टमा बर्गर, फिङ्गरचिप्स, चाउमिन, पिज्जाजस्ता जङ्कफुडका लागि हामी व्यापकमात्रामा खर्च गर्छौँ।यसले मान्छेहरूमा रमाइलो गर्ने चलन बढेको देखाउँछ साथै स्वास्थ्यप्रति असंवेदनशील रहेको पनि देखाइरहेकै छ।गाउँघरमा पनि चाउचाउ,बिस्किटले आफ्नो बाक्लै उपस्थिति जनाइसकेकाले हुनेखानेहरू पैसा तिरीतिरी त्यस्ता खानेकुरा खान थालेका छन्।मकै,भट्मास,घरकै मेवा,गाँजर खानेहरू त अहिले उपेक्षित हुने विडम्वनापूर्ण अवस्था छ।खानपानमा ध्यान नदिँदा व्यक्तिगत, पारिवारिक नोक्सानी बढ्ने हुन्छ।

घरेलु खाजा कस्तो खाजा हो?
घरमै आफै मिलेर तयार गरिएको खाजा स्वाभाविकरूपमा पोषिलो हुन्छ।घरमा अनावश्यकरूपमा मरमसला, चिल्लो, अमिलो पीरो आदि नहाली बनाउने तथा खाजा बनाउन प्रयोग गरिने खाद्यसामग्री पनि सफा, स्वच्छ हुने भएकाले घरेलु खाजाले स्वास्थ्य सवल बनाउन मद्दत गर्छ, साथै धेरै हदसम्म नगद बचत पनि गर्छ।घरमै तयार गरिने हुनाले बेचेर नाफा गर्नुपर्ने अवस्था नहुने भएकाले खर्चिलो पनि हुन्न।यसरी खर्च कम लाग्ने भएर पनि घरेलु खाजा स्वस्थ हुने भएकाले यसको प्रयोग व्यापकमात्रामा गरिनुपर्छ।बजारमा कुकिज किन्नुको सट्टा घरमै पनि तयार गर्न सकिन्छ।घरेलु खाजा मूल्य प्रभावकारी (Cost Effective) हुने भएकाले पनि घरेलु खाजाको प्रयोग गरिनुपर्छ।

घरेलु खाजा बनाउन श्रम र समय लाग्ने भएकाले हतार हुनेहरूले घरेलु खाजा तयार गर्ने कामलाई झण्झटिलो मान्छन्।खाजा तयार गर्न आवश्यक कच्चा पदार्थ सङ्कलन,तिनको सरसफाइ तथा पकाउन वा तयार गर्न लाग्ने समयका कारण कतिपयले घरेलु खाजाको पौष्टिक महत्त्व बिर्सेको देखिएको छ।हतार भएकै बेलामा पनि गाँजर, स्याउ, छोकडा, काजु, किसमिस, केरा, स्याउ, अङ्गुर आदि खाजामा खान सकिन्छ।त्यस्तै सातुमा जौको सातु भए त अझ पौष्टिक खाजा तयार हुन्छ।विहानको खाजामा फलफूल, फलफूलको जुस, टुसा पलाएको गेडागुडी, सलाद, कन्दमूलअन्तर्गत आलु, तरुल आदि, सुख्खा फलफूलअन्तर्गत काजु, किसमिस, छोकडा आदिलगायत जौको सातु, भुटेको मकै, भुटेको चना, मही आदि खानुपर्छ।अन्न, गेडागुडी जस्तै भटमास, मकै, बदाम आदिमा ढुसी परेमा माइकोटक्सिन नामक विषालु पदार्थ उत्पादन भई क्यान्सर रोगले गाँज्न सक्ने हुनाले सतर्क रहनुपर्छ।खाद्यपदार्थमा कीटाणुको उपस्थिति भएमा पेट दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, पेट सुन्निने समस्याहरू देखा पर्छन्।घरेलु खाजा तयार गर्नेको व्यक्तिगत सरसफाइ आवश्यक हुन्छ।तरकारी,फलफूल आदि सदैव सफा पानीले धोइपखाली गर्नुपर्छ।प्रयोग गरिने भाँडा पनि सफा हुनुपर्छ।

तयारी खाजाले कस्तो खाजा हो?
घरेलु खाजाको तुलनामा तुरुन्त प्राप्त गर्न सकिने हुनाले तयारी खाजाको प्रचलन मुख्यतः सहरमा व्यापक छ।समयाभावको कारण दर्शाउँदै सहरियाहरू तयारी वा अर्धतयारी खाजातर्फ आकर्षित हुन्छन्।ग्रामीण क्षेत्रमा पनि यसको प्रभाव बढ्दैछ।तुरुन्त खान मिल्ने हुनाले तयारी खाजातर्फ मान्छेको आकर्षण बढेको देखिन्छ तर यस्तो खाजा सामान्यतया बासी हुन्छ।खाद्यपदार्थको अनावश्यक प्रशोधनका कारण तिनमा पौष्टिकत्त्व पनि कि नष्ट भइसकेको हुन्छ कि त न्यूनगुणस्तरका हुन पुग्छन्।अनावश्यक मरमसला हालिनु,कच्चापदार्थको सरसफाइमा पर्याप्त ध्यान दिन नसक्नु, उपभोगको तुलनामा उत्पादन अधिक हुनु आदिका कारण तयारी खाजाले पर्याप्त पौष्टिकतत्त्व उपलब्ध गराउन नसक्ने हुनाले केवल समय बचाउने नाममा यसको प्रयोगले स्वास्थ्यमा विकृति ल्याउन सक्छ।भण्डारण विधि नपुग्दा पनि तयारी खाजा छिटो बिग्रने हुन्छ।खाजा सफा र स्वच्छ हुनुपर्ने न्यूनतम शर्त हो।सडेगलेको,उत्पादन गरिएको मिति धेरै पुरानो हुँदाको खाद्यपदार्थले स्वास्थ्य बिगार्छ।त्यसैले तयारी खानेकुरा किन्दा सदैव लेबल हेरेरमात्र किन्नुपर्छ।आवश्यक मात्रामा मात्र किन्नुपर्छ, बढी किनेर उपभोग नहुँदा सडीगली बिग्रने भएमा खर्च पनि अनावश्यक गराउँछ।

बालबालिकाका लागि घरेलु खाजाको महत्त्व
बालबालिकाको शरीर छिटोछिटो विकास हुने अवस्थामा हुने भएकोले तिनको खानपानमा अभिभावकको चासो रहनुपर्छ।तिनलाई मुख्यतः शक्तियुक्त तथा प्रोटिनयुक्त खानाका साथै भिटामिन ए, फलाम तत्त्वयुक्त खाद्यपदार्थ खुवाउनुपर्छ।हुर्किसकेकाहरूको तुलनामा तिनको पाचनशक्ति र रोगप्रतिरोधात्मक क्षमता विकास नभइसकेको हुनाले बालबालिकाको खाना सहजै पचाउन सकिने, अर्धठोस, पौष्टिक तत्त्वयुक्त सफा, ताजा हुनुपर्छ।तिनको शारीरिक विकास द्रुतगतिमा हुने भएकाले तिनलाई प्रोटिनको स्रोतको रूपमा आमाको दूध, पर्याप्तमात्रामा गेडागुडीसमेत मिसाइएको बालआहार (लिटो) खुवाउनुपर्छ।साथै चिल्लो पदार्थ, मह, चिनी मिसाइएको खाद्यपदार्थले शक्तिको पूर्तिसमेत गर्छ।खाजामा तरकारी नरुचाउने केटाकेटीहरूलाई फलफूल खुवाउन सकिन्छ।केटाकेटीको दाँत र हाड बलियो बनाउन आमाको दूध वा गाइभैँसीको दूधबाट तयार भएका खानेकुराले क्याल्सियम, फस्फोरसको आवश्यकतासमेत पूरा गर्छ।केटाकेटीका खाजाका लागि महङ्गा खाद्यसामग्रीको तुलनामा घरमा बनाउनसकिने, गाउँघरमा सहजै उपलब्ध हुने मकै, भट्मास, गाईभैँसीको दूध आदि उत्तम विकल्प हुन्।माछामासु, अनार, स्याउ नै ख्वाउनुपर्छ भन्ने छैन।

विद्यालय जाने उमेरका बालबालिकाले पौष्टिक तत्त्व नपाउँदा तिनले विद्यालयमा ल्याउने शैक्षिक नतिजा सन्तोषजनक त हुँदैन नै साथै तिनले खेलकूदमा पनि उल्लेखनीय प्रगति गर्न सक्दैनन्।कुपोषणका कारण सिक्ने क्षमता ह्रास हुँदा तिनले कक्षामा उच्चतम् नतिजा हासिल गर्न सक्दैनन्।बाल्यावस्थामा कुपोषणकै कारणले शारीरिक बृद्धिमा बाधा पर्दा पुड्को हुन पुगी ताञ्जानिया र घानामा ढिला गरी विद्यालयमा प्रवेश गर्ने प्रवृत्ति बढेको छ।त्यसैगरी सूक्ष्म पोषकतत्त्व जस्तै आयोडिन, क्याल्सियम, फोस्फोरस आदिको कमीले पनि केटाकेटीको सिक्ने क्षमतामा कमी आउने हुन्छ।आयोडिनको कमीमा मानसिक विकास नहुने,फलामको कमीमा रक्तअल्पता भई मानसिक एकाग्रता नहुने, शरीर आलस्य हुने भएकाले बौद्धिक क्षमतामा ह्रास हुन पुग्छ।केटाकेटीलाई गेडागुडी, माछामासु अण्डा, दूध तथा दुग्धजन्य पदार्थ, तरकारी, फलफूल आदि ख्वाउनुपर्छ।यस्तो खानेकुरा नपाउँदा तिनको शारीरिक तथा मानसिक विकासमा बाधा पुग्छ।एउटा असल नागरिक बनाउने राज्यको दायित्व पनि पूर्ण हुन्न।

विद्यालय टाढा हुने अवस्थामा घरबाट एकाविहानै हिँड्नुपर्दा तथा बेलुकी ढिला फर्कनेको अवस्थामा केटाकेटीको खाजा ताजा, स्वच्छ, पोषिलो हुनु आवश्यक छ।तयारी खाजाको तुलनामा यतिखेर घरेलु खाजा ख्वाउनु श्रेयष्कर हुन्छ।घरेलु खाजामा च्युरा तरकारी, रोटी तरकारी, मकै भट्मास्, खिर, पुवा, हलुवा आदिले स्थान पाएमा बच्चाहरूको स्वास्थ्यका लागि उत्तम हुन्छ।बजारमा पाइने तयारी खाजाको भन्दा यिनीहरू धेरै नै स्वस्थबर्द्धक हुन्छन्।चाउचाउ, बिस्किट, चकलेट, चिप्स् आदिको प्याकेजिङ्मात्र आकर्षक हुन्छन्।यस्ता खाजा मसलादार,विभिन्न रसायनयुक्त तथा कम पोषिला भएकाले पेट भर्ने काममात्र गर्छन् साथै कालान्तरमा यसले पेटसम्बन्धी रोगहरू, मुटु कलेजोसम्बन्धी रोगको श्रोत बन्न पुग्छ।खाजासँगै केटाकेटीलाई सफा पानी पनि दिनुपर्छ।खाजा बनाउँदा आयोडिनयुक्त नूनको प्रयोग गरिनुपर्छ।बासी, सडेगलेका कृत्रिम रङ, रसायन प्रयोग गरिएका कम पोषिला खाद्यपदार्थको उपभोग गरिनुहुन्न।दिनभरिमा खाना र खाजा गरी कम्तीमा चारपटक खानुपर्छ।खाजामा विविधता पनि आवश्यक हुन्छ।स्कुले केटीहरूको लागि मुख्यतः प्रोटिन, फलाम र रगत बनाउने अन्य पोषकतत्त्वयुक्त खाजा दिनुपर्छ।

Share/Bookmark

No comments:

Post a Comment

Wanna say-

Search This Blog